आलमको समर्थनमा कालोपट्टी बाँधेर सडकमा उत्रियो काँग्रेस
वीरगंज संजाल
९ कार्तिक २०७६, शनिबार १४:३६
३६१७
रौतहट । निलम्बित सांसद मोहम्मद अफ्ताव आलम पक्राउको विरोधमा नेपाली काँग्रेसका कार्यकर्ताले कालोपटीसहित प्रदर्शन गरेका छन् । सरकारले आलमलाई १२ बर्ष अघिको झुठ्ठा मुद्दामा फसाउन खोजेको भन्दै शुक्रबार काँग्रेस निकट कार्यकर्ताले जिल्ला सदरमुकाम गौरमा मुखमा कालोपटी बाँधेर मौन प्रदर्शन गरेका हुन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिको निर्णयअनुसार गौरमा मौन प्रदर्शन गरिएको पार्टी जिल्ला सदस्य सुमन गौतमले जानकारी दिए । गौतमले शुक्रबार बिहान निर्धारित समयमा गौरमा हुने प्रदर्शन सहभागी हुन सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्लाका कार्यकर्ताहरुलाई आग्रह समेत गरेका थिए ।
गत असोज २६ गते प्रहरीले आलमलाई पक्राउ गरेपछि काँग्रेसले आपत्ति जनाउँदै आएको छ । यता, काँग्रेस जिल्ला सभापति कृष्ण यादवले भने विरोध प्रदर्शनका लागि पार्टीबाट औपचारिकरुपमा कुनै निर्णय नभएको बताए । उनले आफु भने अनौपचारिकरुपमा शान्तिपूर्ण सहभागिता जनाउने बताए । शुक्रबारको प्रदर्शन आलम निकट कार्यकर्ताको विशेष अनुरोधमा भएको उनको भनाइ छ ।
आलम पक्राउ परेलगत्तै काँग्रेसका नेता विश्वप्रकाश शर्माले घटनाको निष्पक्ष अनुसन्धानमा सघाउने बताएका थिए । पहिलो संविधानसभाको पूर्वसन्ध्या २०६४ चैत्र २७ गते बम विष्फोटनमा घाइते दर्जन बढी मानिसलाई ईँटाभठामा जिउँदै जलाएको आरोपमा आलम अहिले प्रहरी हिरासतमा रहेका छन् । सर्वोच्च अदालतको आदेशमा उनलाई गत असोज २६ गते गौर चन्द्रनिगाहपुर सडकखण्डको इद्रिशगेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो ।शुक्रबार मात्र जिल्ला अदालत गौरबाट तेस्रो पटक आठ दिनका लागि म्याद थप गरिएको छ ।