काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली चौथो मैत्रीपूर्ण खेलमा जापानको यू–१८ टोलीमाथि विजयी भएको छ ।पहिलो पटक वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्डमा रहेको टोली चौथो मैत्रीपूर्ण खेलमा जापानको यू–१८ विरुद्ध ३–१ को सेटमा विजयी भएको हो । पहिलो सेट २५–१५ ले जितेको नेपालले दोस्रो सेट २०–२५ ले गुमाएको थियो ।
तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको नेपालले चौथो सेट २५–११ ले जितेको थियो । नेपालले अब पाँचौं मैत्रीपूर्ण खेल शनिबार खेल्नेछ ।प्रशिक्षणसँगै मैत्रीपूर्ण खेल खेलिरहेको नेपाल मंगलबार भएको तेस्रो मैत्रीपूर्ण खेलमा थाइल्यान्डको यू–२१ टोलीसँग पराजित भएको थियो । त्यसअघिका दुई मैत्रीपूर्ण खेलमा भने विजयी भएको थियो ।
२२ दिने प्रशिक्षणमा रहेको नेपाली टोली स्वदेश फर्के लगत्तै बंगलादेशमा आयोजना हुन लागेको सेन्ट्रल जोन भलिबल च्याम्पीयन्सीपमा सहभागिता जनाउनेछ । सेन्ट्रल जोनपछि टोलीले घरेलु मैदानमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) खेल्नेछ ।