वैदेशिक रोजगारीमा पूर्वप्रहरी नै ठगिए, खोलामाथि नै व्यापारिक सटर ! (भिडियो)
वीरगंज संजाल
२४ आश्विन २०७६, शुक्रबार १०:२२
२१५५
काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४४१ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरुलाई प्रस्तुत गरिएका छन् ।
निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएका छन् :
१. खोलामाथि व्यापारिक सटर ! सार्वजनिक जग्गामा प्रधानाध्यापक र व्यापारीको कमाउ धन्दा
सिराहा । सिराहको कर्जन्हा नगरपालिका ११ स्थित जनसेवा माध्यमिक विद्यालयले हरिनकट्टा खोलामाथि पक्की सटर बनाएर व्यापारिक प्रयोजनमा लगाउने तयारी गरेको छ । विद्यालयको जग्गामा सटर बनाएर व्यापारिक प्रयोजनका लागि भाडामा दिने भन्दै २२ जना व्यवसायीसँग अग्रिम ४५ हजारका दरले पैसा उठाएका थिए । तर, कर्जन्हा बजार व्यवस्थापन समितिका पदाधिकारी र विद्यालयका प्रधानाध्यापक लक्ष्मी हाईको मिलेमत्तोमा विद्यालयको सार्वजनिक जग्गा नभई कर्जन्हाको हरिनकट्टा खोलामाथि बनाएका सटर लिन लगाइयो ।
२. प्रहरीको जागिरले परिवार पालिएन, विदेश जाँदा पनि दलालले लुट्यो
सर्लाही शंकरपुरका ३० बर्षीय विन्देश्वर महतो ५ महिना अघिसम्म नेपाल प्रहरीको जवान पदमा कार्यरत थिए । १० बर्षमा प्रहरी सेवामा रहँदा पनि घरको आर्थिक अवस्थामा थोरै पनि सुधार आएन । मासिक १७ हजार तलबमा घरपरिवार चलाउन मात्रै होइन भाईको पढाई, बिरामी आमाको औषधि उपचार थेक्नै नसक्ने अवस्थामा थिए । यही मौकामा उनलाई विनोद तामाङ भनेर चिनिने विजु तामाङले दुवई प्रहरीमा आर्कषक तलब सुविधा भएको र पूर्व प्रहरी, आर्मीलाई प्राथमिकता दिने भन्दै दुवई पठाइदिने आश्वसन दिए ।
३. बैदेशिक रोजगार विभागले मानव तस्करहरुको सञ्जालबाट बाँचेर फर्केकाहरुको उजुरी लिएन
काठमाडौं । युरोप छिर्ने सपनामा मानवतस्करको गिरोहमार्फत लिबिया पुगेका लमजुङका सन्तोष श्रेष्ठको गत असार १७ गते लिबियाको विद्रोही पक्षको आक्रमणमा परी निधन भयो । इजिप्टको कायरो स्थित नेपाली दुतावास तथा अन्तर्राष्ट्रिय आप्रवासी संगठन आइओएमले उद्धार गरी नेपाल फर्काउने कागजपत्र तयार गरिसकेका सन्तोष जिवित नेपाल फर्किन पाएनन् । नेपालबाट नेपाली एजेन्टमार्फत दुबई र दुबईबाट पाकिस्तानी एजेन्टमार्फत लिबिया र लिबियामा भने जस्तो काम नपाएपछि इटाली छिर्न लाग्दा सन्तोष लिबियामै बन्दक बनेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा चाडबाडको छेकोमा खुसी हुँदै स्वदेश फर्किनेहरुको भिड भन्दा फरक कुनाबाट कमाउने सपना बोकेर उडेका सन्तोषको शब बाहिरिदै थियो ।