काठमाडौं । प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज (पानीजहाज) सञ्चालन गर्ने तयारी भइरहेका बेला निजी क्षेत्रले नारायणी नदीमै छुट्टै मिनी क्रुज (सानो पानीजहाज) सञ्चालन गरेको छ ।
रङ्गमहल रिभर ल्यान्ड प्रा.लि.ले मिनी क्रुज सञ्चालनमा ल्याएको हो । यसको औपचारिक सुरुआत भने दसैंको फूलपातीबाट गरिने प्रा.लि.का अध्यक्ष रमन भट्टराईले जानकारी दिए ।
‘हामीले अहिले टेस्ट ड्राइभ सुरु गरेका हौँ । यसलाई औपचारिक रूपमा फूलपातीबाट सुरु गर्नेछौँ,’ भट्टराईले भने ।
मिनी क्रुज झट्ट हेर्दा सानो पानीजहाजकै स्वरूपमा छ । यसलाई स्थानीय पानीजहाजकै नामले चिन्दछन् । मिनी क्रुज पहिलोपटक आइतबार मात्रै नारायणी नदीमा टेस्ट ड्राइभ गरिएको हो ।
यसको सोमबार पनि टेस्ट ड्राइभ जारी थियो । ‘अहिले हामी २० जना यात्रु राखेर यसलाई चलाउन सक्नेछौँ,’ अध्यक्ष भट्टराईले भने ।
आजको गोरखापत्र दैनिकमा वसन्त पराजुलीले यो समाचार लेखेका छन् ।