पर्सा। मुस्लिम र हिन्दू समुदायले आज सामूहिकरुपमा मोहर्रम पर्व मनाउँदैछन् ।मुस्लिम पात्रोअनुसार हिजरी सम्वत् १४४१ को मोहर्रम महिनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ मनाइँदै छ ।
मुस्लिमको पर्व भए पनि सदियौँदेखि यहाँका हिन्दूले समेत सँगसँगै मनाउने एकमात्र पर्व नै मोहर्रम भएकाले यो पर्व दुवै सम्प्रदायबीच धार्मिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको अगुवाको बुझाइ छ ।
मुस्लिम धार्मिक गुरु हजरत इमामे हुसैनको सम्झनास्वरुप मनाइने यो पर्वमा मुस्लिम धर्मगुरुको प्रतीकस्वरुप तहजियाको पूजा गर्ने प्रचलन रहेको छ ।
धार्मिक सहिष्णुता र भाइचाराको सम्बन्ध कायम गर्न हिन्दू समुदायले समेत मोहर्रमका अवसरमा शुभकामना आदानप्रदान गरी मनाउने गरेका हुन् ।
यता मुस्लिम धर्मावलम्बी र हिन्दू धर्मावलम्बीले आज उत्साह साथ मनाउने मोहर्रमका लागि जिल्लामा कागजको मूर्ति तहजियाको बिक्री बढेको छ । हिन्दू र मुस्लिम धर्मावलम्बीले मनाउने चाड भए पनि पछिल्लो समय हरेक समुदायले घरघरमा ताहजिया राखी चाड मनाउने गरेका छन् ।
आजभन्दा एक हजार ४५० वर्ष अघि एजिदोनोले गरेको आक्रमणमा परी मारिएका इस्लामिक गुरु हजरते इमामे हुसैनको सम्झनामा तहजिया राखेर यो चाड मनाइने गरेका छन् । हुसैनको प्रतीकस्वरुप घरघरमा तहाजियाको पूजा गर्ने चलन रहेको छ ।