न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने सञ्चार गृहहरुको नाम सार्वजनिक गर्ने पत्रकार महासंघको चेतावनी
वीरगंज संजाल
२३ भाद्र २०७६, सोमबार ०८:५४
२९३५
रेडियो नेपाल विरुद्ध आन्दोलन गर्ने
काठमाडौं : नेपाल पत्रकार महासंघले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने सञ्चार गृहहरुको नाम सार्वजनिक गरी एक हप्ताभित्रै न्यूनतम पारश्रिमिक दिने बाध्यकारी व्यवस्था लागू गर्न सूचना तथा प्रसारण विभागलाई अल्टिमेटम दिएको छ ।
महासंघका कार्यवाहक अध्यक्ष दीलिप थापामगरसहितको प्रतिनिधि मण्डलले विभागका महानिर्देशक कृष्णमुरारी न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाउदै आर्थिक वर्ष २०७६–०७७ को दरबन्दी र श्रमजीवी विवरण नबुझाउने सञ्चार गृहहरुको नाम सार्वजनिक गर्न र नबुझाउने सञ्चार गृहहरुलाई कानुनी रुपमा विवरण बुझाउन बाध्य पार्न विभागले सक्रियता नदेखाएको भन्दै एक साताभित्र माग पूरा नभए विभाग विरुद्ध सशक्त आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ ।
यसअघि गत साउन १९ गते पनि महासंघले सोही माग विभाग समक्ष राखेको थियो । यसैगरी बिना कारण निष्काशित गरिएका रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत महासंघ डोटी शाखाका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुंवरलाई सेवामा निरन्तरता, श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयन गरी यही भदौ २३ गतेसम्म महासंघलाई जानकारी नदिए भदौ २४ गतेदेखि रेडियो व्यवस्थापन विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनीसहितको पत्र महासंघले आजै पठाएको छ ।
विभाग र रेडियो नेपाल व्यवस्थापन समक्ष माग प्रस्तुत गर्ने र सुनुवाई नभए आन्दोलन गर्ने निर्णय गरेको महासंघका श्रमजीवी हीत प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालले बताए । ज्ञापनपत्र बुझ्दै विभागका महानिर्देशक न्यौपानेले महासंघको माग सम्बोधन गर्न विभाग लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।rasasa