पाकिस्तानद्वारा साउदी अरेबिया र युएइलाई आफ्नो पक्षमा लाग्न दबाब
वीरगंज संजाल
१९ भाद्र २०७६, बिहीबार ०२:१७
२७४१
इश्लामावाद । पाकिस्तानले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएइ)लाई काश्मीर मामिलामा आफ्नो पक्ष प्रष्ट पार्न आग्रह गरेको छ । पाकिस्तानले काश्मीरीका लागि विश्वभरीका मुसलमान देशको सहयोग जरुरी रहेको समेत जनाएको छ । साउदी अरब र संयुक्त अरब इमिरेट्सले काश्मीर प्रसंगमा भारतको संविधानको धारा ३७० निस्प्रभावी गर्ने भारतको कदममा मौनता साँधीरहेका छन् ।
बुधबार साउदी उपविदेशमन्त्री अब्देल बिन अहमद अल जुबैर र युएइका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद बिन सुल्तान अल नाहयान इश्लामाबाद पुगेका थिए । जनाइएअनुसार यो भ्रमणको उद्देश्य पाकिस्तानलाई आश्वासन दिनु हो । दुवै नेताहरुले यो अवसरमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमूद कुरैशीसँग कुराकानी गरेका थिए ।
पाकिस्तानको प्रधानमन्त्रीको कार्यालयले जारी गरेको वक्तव्यमा काश्मीरकै मामिलामा दुई देशका प्रतिनिधिसँग कुरा भएको जनाइएको छ । पाकिस्तानले काश्मीर मामिलामा अन्तर्र्राष्ट्रिय हस्तक्षेपका लागि पहल गरिरहेको छ । (बीबीसी)