वीरगन्ज : सशस्त्र प्रहरी पर्साले करिब १० लाख मुल्य बराबरको लागूऔषध चरेस बरामद गरेको छ। सशस्त्र प्रहरी १३ नम्बर गण चिनिमिल पर्साले विशेष सुचनाको आधारमा पर्साको पोखरिया नगरपालिका १ बनकटवाबाट १० लाख मुल्य बराबरको २५ किलो लागूऔषध चरेस नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरले बताए।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बोरामा ५२० ग्रामको २५ प्याकेट र ५०० ग्रामको २४ प्याकेट गरी ४९ प्याकेटमा २५ किलो चरेस फेला गरेको सशस्त्र प्रहरी उपरिक्षक कुँवरले बताए। नियन्त्रणमा लिएको चरेस पर्सा प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ। यसैगरी सशस्त्र प्रहरीले लागूऔषध इन्जेक्सन बरामद गरेको छ।
वीरगन्ज भन्सार कार्यालयको राजश्व तथा सुरक्षा टोलीले वीरगन्ज १६ इनर्वाबाट लागूऔषध डाईजोपाम, नोफिन र फेनारगन गरी ६०७ पिस इन्जेक्सन बरामद गरेको हो।
सिमावर्ती शहर भारतको रक्सौलबाट अवैध रुपमा लुकाई छिपाई वीरगन्ज भन्सारको पूर्व पट्टी इनर्वाको बाटो हुँदै वीरगन्ज भित्र्याइरहेको अवस्थामा गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथ लागु औषध छाडी तस्कर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।