वीरगंज । आइतबारदेखि कार्यान्वयनमा आएको नयाँ ऐनअनुसार नागरिकताका लागि वडाबाट सिफारिस लिन समेत टोकन चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालयले नागरिकताका लागि अनलाइन पोर्टल मार्फत वितरण गर्दै आएको टोकन अब वडाबाट सिफारिस लिनका लागि पनि आवश्यक पर्ने भएको हो । जिल्ला प्रशासन कार्यालय पर्साले नयाँ नागरिकता ऐनअनुसार जन्मका आधारमा वितरण गरिने वंशज नागरिकता प्राप्तिको लागि टोकन प्रणालीअनुसार नै सिफारिस गर्न वडा कार्यालयहरूलाई पत्राचार गरेको छ ।
पत्राचारअनुसार नागरिकता लिनका लागि वडामा सिफारिस लिन जानेहरूसँग जिल्ला प्रशासन कार्यालय पर्साको अनलाइन टोकन अनिवार्य रूपमा उपलब्ध गराउनु पर्ने हुन्छ । कार्यालयमा सेवाग्राहीहरूको चाप कम गरी सहज रूपमा नागरिकता पाउने वातावरण बनाउन अनलाइनबाटै टोकन लिने व्यवस्था गरिएकोले सोहीअनुसार वडा कार्यालयहरूले सिफारिस गर्दा मिति अनुसार नै सिफारिस गर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले हस्ताक्षर गरी जारी गरेको सूचनामा जन्मको आधारमा नागरिकता लिने सेवाग्राहीले वडामा सिफारिस लिन जाँदा जिल्ला प्रशासन कार्यालय पर्साले व्यवस्था गरेको अनलाइन टोकन माग गरेर मात्रै सिफारिस गर्न अनुरोध गरिएको हो । त्यसरी अनलाइन मार्फत टोकन लिएर सिफारिस लिन जाँदा वडा कार्यालयमा पनि भीड कम हुने र जिल्ला प्रशासन कार्यालयमा पनि भीड कम भई नागरिकता वितरणमा सहज हुने जिल्ला प्रशासन कार्यालय पर्साको बुझाई छ । संभाल : यात्रा डेली