वीरगंज । हुण्डी कारोवार गर्ने एक जनालाई आठ लाख रकमसहित पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित सडकखण्डबाट प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी ३३ वर्षीय सुनिल कुमार साहलाई पक्राउ गरेको हो ।
भारतको रक्सौलबाट ना. २८ प ९००८ नम्बरको मोटरसाइकलमा वीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा शंकाको आधारमा प्रहरीले चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीकाअनुसार चेकजाँचको क्रममा साहले लगाएको हेलमेटभित्र लुकाएको अवस्थामा स्रोत नखुलेको १ हजार दरको नोट ८ सय थान बरामद भएको हो । साहको साथबाट बरामद भएको नेपाली ८ लाख रुपैयाँ, उनी सवार मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । साह विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थपी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता गिरीको भनाई छ ।