वीरगंज । ‘लम्पीस्किन’ रोग प्रभावित क्षेत्रका पाँच हजार गाईभैँसीलाई लम्पीस्किनविरुद्धको औषधि दिइएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा.रामचन्द्र अधिकारीका अनुसार रोग न्यूनीकरणका लागि मल्हम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, फिनेल, भिरकोनजस्ता औषधि वितरण गरिएको हो । कार्यालयले जिल्लाका प्रभावित क्षेत्रमा जनचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । यसका लागि पालिकास्तरमा सचेतना गोष्ठी, जिल्लाका सहकारीमार्फत फ्लेक्स, ब्रुसर र पम्प्लेट वितरणलगायतका काम गरिएको उनले जानकारी दिए । रोग के हो ? रोग नियन्त्रण कसरी गर्ने रु र यसका औषधिका बारेमा जानकारी दिइएको उनले बताए ।
लम्पीस्किनका कारण गाईभैँसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ । उनका अनुसार जिल्लाका पशुपालक किसानले आफैँ खोप खरिद गरेर गाईभैँसीलाई दिन थालेका छन् । किसानले एक डोज खोप बराबर रु दुई सय १० मा खरिद गरी आफैँ दिन सुरु गरेको उनले बताए । उनले भने, ‘स्थानीय पालिकाको सहयोग तथा व्यावसायिक पशुपालक किसानले आफैं खरिद गरेर खोप दिन सुरु गरेका छन् ।”जिल्लामा हालसम्म चार हजार एक सय गाईभैंसी यस रोगबाट प्रभावित भएका छन् । जसमध्ये ११२ वटा मरी सकेको कार्यालयले जनाएको छ । यस रोगका कारण जिल्लाको राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएका छन् । जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालिएको छ ।
गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काँढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ । यो रोग विशेष गरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए । रोग लाग्नबाट बचाउनका लागि लम्पीस्किनविरुद्धको खोप लगाउन आवश्यक रहेको उनको भनाइ छ ।