वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले समाजमा रहेका विकृति विसंगति हटाउन पनि युवाहरुले राजनीतिमा सकृय सहभागिता जनाउनु पर्नेमा जोड दिएका छन् । रेडियो वीरगञ्ज र टिभी वीरगञ्जले आज मुनलाईट स्कूलमा आयोजना गरेको ‘नयाँ पुस्तासँग मेयर’ संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख सिंहले वीरगञ्जलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आफू लागि परेको बताए । उनले वीरगञ्जलाई नयाँ पुस्ताले चाहेको जस्तै शहर बनाउने बाटोमा आफूहरु अग्रसर रहेको बताउँदै महानगरले अहिलेसम्म गरेका कामहरुको मूल्यांकन गर्दै आवश्यक सुझावसहित त्रुटीहरु औँल्याइदिन पनि आग्रह गरे । नगर प्रमुख सिंहले वीरगञ्जको मितेरी पुलदेखि परवानीपुरसम्म घुम्ने र रमाउने खालका स्थानहरु निर्माणको अन्तिम तयारीमा महानगर जुटेको बताउँदै मुख्य सडक मात्रै नभएर गल्ली र अन्य स्थानका सबै सडकहरुलाई सुन्दर बनाउने योजना महानगरको रहेको पनि बताए ।
महानगरअन्तर्गतका चार वटा सामुदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम लागू गरिएको बताउँदै उनले नयाँ शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रको सुदृढीकरणमा महानगर लागि परेको जानकारी दिए । निजी विद्यालयको महंगो शुल्क तिर्नु भन्दा सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट महानगरले निःशुल्क पठन पाठनको व्यवस्था मिलाएको हुँदा बालबालिकालाई सरकारी विद्यालयमा पढाउन आग्रह समेत गरे ।
नगर प्रमुख सिंहले राम्रो उद्देश्यले कतिपय काम गर्दा मुद्दा मामिलामा अल्झिनु परेको गुनासो गर्दै नगवा पोखरीको सौन्दर्यकरणको काम प्रदेश सरकारले शुरु गरी अलपत्र छाडेकोमा गुनासो व्यक्त गरे । उनले प्रदेश सरकार र केन्द्र सरकारले अधिकांश काम वीरगञ्जमा अधुरै छाड्दा यसको अपजस महानगरले खेप्नु परेको भन्दै नगरवासीलाई महानगरको बाध्यता बुझि दिन आग्रह समेत गरे । विद्यार्थीसँग प्रत्यक्ष सम्वाद गरी रहेका नगर प्रमुख सिंह विद्यालयमा ठूलो संख्यामा बालबालिकाको आमा, हजुरआमा लगायतका अभिभावकहरु उपस्थित भएपछि बालबालिकालाई खाजा खुवाई रहेको स्थानमा पुगेर उनिहरुको गुनासो समेत सुनेका थिए ।
अधिकांशले निजी विद्यालयमा पढाउँदा पनि ट्युशन तथा कोचिङ्ग क्लास लिन विद्यालयले बाध्य पार्ने गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध नगराएको लगायतका गुनासो गरेका थिए । मुनलाईट माविका प्राचार्य श्याम केसीको अध्यक्षतामा सम्पन्न ‘नयाँ पुस्तासँग मेयर’ संवाद कार्यक्रमको सहजिकरण रेडियो वीरगञ्ज एवम् टिभी वीरगञ्ज का कार्यकारी अध्यक्ष ध्रुव साहले गरेका थिए ।