काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सभापतिमा जयन्तीदेवी राई निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले राईलाई सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।
समितिका सदस्यहरु सिता देवकोटा र गङ्गाकुमारी बेलबासेले राईलाई सभापतिमा निर्वाचित गरियोस् भनी गर्नुभएको प्रस्तावमा प्रमीलाकुमारी र भैरवसुन्दर श्रेष्ठले समर्थन गर्नुभएको थियो । नवनिर्वाचित राईलाई आजै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।
सो अवसरमा राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले नवनिर्वाचित सभापति राईलाई विभिन्न विधेयक तयार गर्ने, छलफल गर्ने र कानुनहरूको मस्यौदा तयार गर्न समिति क्रियाशील भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो । नवनिर्वाचित सभापति राईले लामो समयदेखि अड्किएका नागरिकता विधेयक, संघीय शिक्षा ऐन लगायतलाई प्राथमिकतामा राखेर समितिलाई क्रियाशील बनाउने प्रतिबद्धता जनाउनुभयो ।