भारी वर्षापछि भत्किएको संरचनाको कारण १७ जनाको मृत्यु
वीरगंज संजाल
१६ मंसिर २०७६, सोमबार १६:२३
४०३९
नयाँ दिल्ली । भारतको तमिलनाडु राज्यमा सोमबार भारी वर्षापछि घरका पर्खाललगायतका संरचनाहरु भत्किँदा चार परिवारका कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
भारी वर्षाका कारण सोमबार बिहान ती व्यक्तिहरु सुतिरहेको अवस्थामा घरको पर्खाल भत्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।भारतीय दक्षिणी राज्य तमिलनाडुको गाउँमा भएको सो घटनामा दुई बालबालिकासहित १७ जनाको मृत्यु भएको जनाइएको छ । सलधारे वर्षापछि सो घटना भएको प्रहरी स्रोतले एएफपी समाचार समितिलाई सो जानकारी दिएको छ ।
स्थानीय समयानुसार सोमबार बिहान ५ः३० बजे सो घटना भएको टाइम्स अफ इन्डिया दैनिकले जनाएको छ ।भारतमा घरलगायतका संरचना भत्किनु एक सामान्य घटनाको रुपमा रहेको पाइन्छ । कमजोर संरचनाहरूका कारण यस्तो घटना हुने गरेको विज्ञहरुको भनाई छ । गत जुलाईमा मुम्बईमा भएको यस्तै घटनामा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको थियो ।