वीरगंज । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगन्ज सडकखण्डको स्थलगत निरीक्षण गरेका छन् । बिहीबार मन्त्री श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडकखण्डको निरीक्षण एवं अवलोकन गरेको हो ।
अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ विस्तार कार्य अब चाँडै सुरु गर्ने सहमति भएको बताए । कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको र कलंकीदेखि महाराजगन्जसम्मको सडकको काम चाँडै सुरु गर्ने चीन सरकारसँग सहमति भएको उनले जानकारी दिए । “दोस्रो खण्ड चक्रपथ विस्तार गर्ने काम सम्पन्न गर्नु छ । कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको छ । यो काम अघि बढाउन पनि चीन सरकारले सहमति दिइसकेको छ । त्यसैअनुसार काम अघि बढाउन हामीले पहल गरिरहेका छौँ । योबीचमा धेरै समयसम्म यो काम हुन सकेन ।
हाम्रोबीचमा मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूतसँग छलफल गरी छिटोभन्दा छिटो काम अघि बढाउने सहमति भएको छ,” उनले भने, “समस्याको समाधान निकालिसकेको छौँ । बिजुलीका पोल र मन्दिरहरू अर्को ठाउँमा बनाउने तयारी भएको छ र छिटै हामी काम सुरु गर्ने सहमति भएको छ । सरकारले बाँकी समस्या तदारुकताका साथ हल गर्ने कुरा भएको छ । बिजुलीका पोल, स्वयम्भूअघिको समस्याहरूका कुराहरू छन्, त्यसमा सांस्कृतिक सम्पदा भत्काउनु हुँदैन भनेर त्यहाँको डिजाइन नै परिवर्तन गर्ने कुरा भएको छ । सकेसम्म महाराजगन्जदेखि धोबीखोलासम्म काम गर्नुहोस् भन्ने आग्रह गरेका छौँ । तर, सहमति भने त्यो होइन ।”