वीरगञ्ज । नयाँ राष्ट्रपतिको चुनावमा समर्थन जुटाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको दौडधुप बढेको छ । एमाले र कांग्रेसले आ–आफ् नो उम्मेदवार उठाउने तयारी गरेको बेला ठाकुरले ठूला दलका नेताहरुको समर्थन जुटाउन सक्रिय भएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई दिउँसो भेटेका ठाकुरले साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । भेटको क्रममा प्रधानमन्त्री प्रचण्डले सहमतिबाट राष्ट्रपतिका लागि आफू सकारात्मक रहेको ठाकुरसँगै रहेका एकजना नेताले जनाए ।
पार्टीका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र अनिल झालाईसँगै लिएर बालुवाटार पुगेका उनले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गरेको बताइएको छ । एमाले अध्यक्ष ओलीले पनि सकारात्मक धारणा व्यक्त गरेको भेटमा सहभागी नेताहरुले बताए ।
फागुन १३ गते राष्ट्रपतिका लागि मनोनयन दर्ताको कार्यक्रम रहेको छ । २५ गते चुनाव हुने तालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । राष्ट्रपतिको निर्वाचनमा कुल ८ सय ८१ जना मतदाता रहेका छन् ।