रौतहट । कुमार चन्दन । नेकपा एमालेको मिसन ग्रास रुट अभियानको रौतहटमा उद्घाटन गरिएको छ । नेकपा एमाले जिल्ला अधिवेसन आयोजक समिति रौतहटको आयोजनामा रौतहटको गरुडा नगरपालिका ४ मित्रनगर स्थित तुलसीलाल स्मृति सभा भवनमा मंगलवार मिसन ग्रास रुट अभियानको सुरुआत गरिएको हो ।
नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेलले कार्यक्रमको उद्घाटन गर्दै हरेक जिम्मेवार पार्टी कार्यकर्ताले अत्यन्त गम्भीर भई पार्टीको निर्देशन बमोजिम मिसन ग्रास रुटलाई भव्यताका साथ सम्पन्न गर्न निर्देशन दिएका छन् । नेकपा एमालेको मधेश प्रदेश सहइन्चार्ज समेत रहेका पौडेलले कार्य विभाजन अनुसार काम डटेर जनतामा काम गर्न निर्देशन दिएका छन् ।नेकपा एमाले जिल्ला अधिवेशन आयोजक समिति रौतहटका अध्यक्ष सचिदानन्द साहको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सरकारका संचार तथा गृह राज्यमन्त्री केशव राय चौधरी, संघीय साँसदहरु गंगाप्रसाद यादव, प्रभु हजरा तथा बिनादेवी साहको पनि उपस्थिति रहेको थियो ।
यसै गरी कार्यक्रममा प्रदेश साँसदहरु जयचन्द पटेल र जैनव खातुनको पनि उपस्थिति रहेको थियो ।मुकेश पटेलले संचालन गरेको कार्यक्रम मिसन ग्रास रुट अभियानका कल्पना कटुवाल, मन्जु थापा, मणिशंकर लाल निधिसहित जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा जिल्लाको ५५ सदस्य जिल्ला अधिवेशन आयोजक समिति गठन गरिएको छ ।यसै गरी केन्द्रीय निर्देशन अनुसार फागुन ११ गते निर्वाचन क्षेत्रस्तरीय बैठक भएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ को लागि पूर्व साँसद बबन सिंह, क्षेत्र नम्बर २ को लागि जयचन्द पटेल, क्षेत्र नम्बर ३ का लागि खगराज र क्षेत्र नम्बर ४ का लागि अखिलेश्वर चौधरीलाई संयोजक बनाइएको बुझिएको छ ।