नयाँ दिल्ली । मध्य भारतको छत्तीसगढ राज्यमा नक्सलवादीले दुई जना प्रहरीको हत्या गरेका छन् । राज्यको राजनान्द जिल्लाको बोर्तलाब क्षेत्रमा नक्सलवादीले उनीहरूको हत्या गरेका प्रहरीले जनाएको छ । आज बिहान बोर्तलाब क्षेत्रमा नक्सलवादीले प्रहरीमाथि गोली चलाएका तथा घटनास्थलमा नै एक जनाको मृत्यु भएको राज्यका वरिष्ठ प्रहरी अधिकारी अभिषेक मीनाले जानकारी दिएका छन् ।
आक्रमणमा घाइते भएका अर्का प्रहरी जवानको अस्पताल लैजानेक्रममा बाटोमा मृत्यु भएको उनले बताए । प्रहरी जवानद्वय मोटरसाइकलमा बोर्तलाब प्रहरी शिविरतर्फ गइरहेका बेला आक्रमण भएको थियो ।
प्रहरी मारिएपछि घटनास्थल वरपर प्रहरी र अर्धसैनिक टोलीले आक्रमणकारीको खोजी गरिरहेको छ । भारतको मध्य र पूर्वी भागमा सक्रिय नक्सलवादीले सुरक्षाकर्मीमाथि बेलाबेलामा घातक आक्रमण गर्दै आएका छन् । नक्सलवादीविरुद्ध केन्द्रीय सरकारले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरे पनि विद्रोहीका चपेटामा धेरै गरिब भारतीय परेका छन् । नक्सलवादी आक्रमणबाट हजारौँ विस्थापित भएका छन् भने सयौँले ज्यान गुमाएका छन् ।