काठमाडौंको नयाँ बसपार्क गोंगबुमा सोमबार एकाएक भएको आन्दोलनमा सर्वसाधारणले समेत क्षति भएको छ। पूर्व जानकारी बिना गरिएको यातायात मजदुरको आन्दोलनमा गन्तव्यतर्फ गइरहेका सर्वसाधारणमाथि समेत आक्रमण भएको हो।
अनामनगर निवासी शशी अर्याल उक्त घटनामा घाइते हुनुका साथै उनको सवारी साधनमा ठूलो क्षति पुगेको छ। नयाँ बसपार्क हुँदै स्वयम्भूतर्फ जाँदै गर्दा एकाएक उनी सवार बा ५९ ४८ नम्बरको गाडीमाथि आक्रमण भएको थियो। दर्जनौं इँटा र ढुँगा गाडीमाथि प्रहार हुँदा उनी समेत सामान्य घाइते भएका छन्।
‘गाडीको अगाडिको सीसा छेडेर ढुंगा भित्र नपस्दा ज्यान जोगियो,’ उनले भने। बीच सडकमा गुडिरहेका बेला एक्कासी बर्सिएको इँटाका कारण उनी हडबडाएका थिए। जसोतसो गाडी किनार लगाएर उनी ज्यान जोगाउन सफल भएका थिए।
‘एकछिन अगाडिसम्म अवस्था सामान्य थियो। जब म बीजी मल नजिकै पुगेँ, कताकताबाट ढुङ्गा बर्सिन थाले,’ उनी भन्छन्। गाडीको सीसा लागेर उनको टाउकोमा सामान्य चोट लागेको छ भने उनको गाडी पूरै तोडफोड भएको छ।
ट्राफिक नियमविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न नयाँ बसपार्कस्थित ल्होत्से मलमा जम्मा भएका यातायात मजदूरमाथि उक्त स्थान भाडामा लिएको निजी कम्पनी ल्होत्सेले बल प्रयोग गरी रोक्न खोजेको थियो। उक्त क्रममा निम्तिएको झडप हिंसात्मक बनेको थियो।
उक्ट घटनापछि प्रहरीकै दुईटा भ्यान जलाइएका छन् भने धेरै गाडी तोडफोड भएको छ। नयाँ बसपार्क क्षेत्रका पसलहरु तोडफोड हुनुका साथै लुटपाट गरिएका छन्।