प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्न पाएको अवसरलाई चुनौती पूर्ण अवसरको रूपमा लिएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा २८ औँ जनयुद्ध दिवसको अवसरमा आयोजित वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘तपाईँ हामी सबैलाई थाहा छ अहिले अर्थको स्थिति के छ ?, राजनीतिको स्थिति के छ ?,’ प्रश्न गर्दै प्रचण्डले भने, ‘यो सबै सन्दर्भमा मैले यो अवसरलाई, सरकारको नेतृत्व गर्न पाएको यो अवसरलाई चुनौती पूर्ण अवसरको रूपमा लिएको छु। हामीलाई असफल हुने बिलकुल छुट छैन । हामीले सामाजिक न्याय, सुशासन र आर्थिक क्षेत्रमा फड्को मार्नै पर्छ ।’
उनले सामाजिक न्याय सुशासन र समृद्धिको नयाँ यात्रामा रहेको बताउँदै असफल हुने छुट आफूलाई नभएको बताएका हुन् । उनले जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको महान् सहिदहरू प्रतिको सम्मान भएको बताए ।