नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । सरकारसँग ६ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो । राष्ट्रपतिको सवारीका क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले कुटपिट गरेको विरोधमा संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो ।
आज बहिान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरूबीच वार्ता भएपछि आन्दोलन स्थगित भएको हो । सरकारको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव डा. गणेशप्रसाद पाण्डे र संघका तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा २७ माघमा घटेको घटनामा संंलग्नलाई एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने, विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा परिमार्जन गर्न सुझाव पेस गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ संशोधनलाई प्रभावकारी कार्यान्वयन गर्ने र संघले अगाडि बढाएका कार्यक्रम तत्काललाई स्थगित गर्ने उल्लेख गरिएको छ ।