प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भएको भेटवार्तापछि राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न उच्चस्तरीय संयन्त्रको बैठक बोलाउने सहमति भएको हो। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने, “उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा छलफल गर्छौं।”
प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए। दुवै जनाबीच एक घण्टा छलफल भएको थियो। राष्ट्रपति निर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।
आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदै छ। राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई गठबन्धनले सघाउनुपर्ने एमालेको धारणा छ।
माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने निर्णय गरेको छ। प्रधानमन्त्री दाहाल पनि राष्ट्रिय सहमतिमा जोड दिँदै आएका छन्।
यस विषयमा पनि उच्चस्तरीय संयन्त्रको बैठकमा छलफल हुने प्रधानमन्त्री दाहालले बताए। “सहमतिबाटै अगाडि बढ्ने प्रयास हुन्छ। सहज रूपमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्छौं,” दाहालले भने।
सत्तारुढ गठबन्धनले एमाले अध्यक्ष ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको छ। जसमा सात पार्टी सहभागी छन्।
यससँगै दाहाल र ओलीबीच राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पछिको अवस्थाका विषय पनि छलफल भएको छ। स्वतन्त्र पार्टीले आफ्ना मन्त्री फिर्ता बोलाएको भए पनि सरकारलाई दिएको समर्थन यथावत राखेको छ।