काठमाडौं : सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्यालले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छन्। आइतबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होसे हल पुगेर अर्यालले मनोनयन दर्ता गराएकी हुन्।
उनको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका छन्।
मनोनयन दर्ता पछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रकी उम्मेदवार अर्यालले निष्पक्ष,तटस्थ र मर्यादित भएर काम गर्ने बताइन्।
उनले भनिन्,’राष्ट्रियसभाको उपाध्यक्षमा तटस्थ र मर्यादित भएर काम गर्छु। त्यसका लागि सबै सांसदहरूको सहयोगको अपेक्षा गरेकी छु।’
उनले पदअनुसारको आचारण गर्नु आफ्नो कर्तव्य रहने बताइन्।
संघीय सचिवालयले बेलुका ४ बजेसम्म राष्ट्रियसभा उपाध्यक्षको मनोनयनको समय तोकेको छ। ४:१५ बजेपछि उम्मेदवारको नाम सार्वजनिक गरिने सचिवालयले जनाएको छ।
राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी दिएको छैन। यसैले अर्याल निर्विरोध निर्वाचित हुने पक्काजस्तै भएको छ।
राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको पदावधि सकिएको १ वर्षपछि रिक्त रहेको पदमा भोलि निर्वाचन हुन लागेको छ।