आन्तरिक पर्यटनको प्रवर्द्धनका साथै ललितपुरको पाटनमा रहेको भाइदेग मन्दिरको पुनर्निर्माणमा आवश्यक रकम जुटाउन सम्पदा पैदल यात्रा हुने भएको छ।
रोटरी क्लबको अफ पाटन हेरिटेजको आयोजनामा आगामी फागुन ६ गते शिवरात्रिमा बिहान ७ बजे पैदल यात्रा शुरू हुने जनाइएको छ। पाटन दरबार स्क्वायरबाट १२ किलोमिटरको यात्रा हुने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।
पैदल यात्रामा सहभागी हुन प्रति व्यक्ति ७०० रुपैयाँ शुल्क लाग्ने काठमाडौं उपत्यका संरक्षण कोषका कन्ट्री डाइरेक्टर रोहित रञ्जितकारले बताए। दर्ता शुल्कबाट सङ्कलित रकम भाइदेग मन्दिर पुनर्निर्माण गरिरहेको संस्था संस्कृति सम्पदा संरक्षणलाई दिइने उनको भनाइ छ। रकम सङ्कलनका साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पैदल यात्रा आयोजना गरिएको हो।
भाइदेग मन्दिर पाटनका तत्कालीन राजा श्रीनिवास मल्लका चौतारिया भारो भागीरथ भैयाले विसं १७३५ मा निर्माण गरेका थिए। उक्त मन्दिर १९९० सालको भूकम्पमा भत्किएको थियो।