वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कृषकलाई सम्पन्न बनाउन व्यवसायीक कृषि खेतिलाई अगाडी बढाउनुपर्ने भन्दै त्यसका लागि महानगरले आवश्यक सहयोग गर्ने बताएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ र ३२ का स्थानीय कृषकले सोलकपुरमा संयुक्त रुपमा स्थापना गरेको हरियाली कृषक समूहको आइतबार उद्घाटन गर्दै मेयर सिंहले यस्तो बताउनुभएको हो । ‘बढी प्रतिफल प्राप्त हुने तरकारी तथा नगदे बाली व्यवसायीक रुपमा लगाउन महानगरले आवश्यक सहयोग गर्छ,’ उनले भने , ‘त्यसका लागि आवश्यक तालिम, बिउ तथा बजारको प्रबन्ध महानगरले गर्छ ।’
उनले कृषी समूह तथा सहकारीहरुले आर्थिक पारदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा पनि जोड दिए । कार्यक्रममा वडा नम्वर ३१ का वडाध्यक्ष जितेन्द्र प्रसाद यादवले ग्रामिण क्षेत्रको रुपमा रहेको महानगरको ३१ र ३२ नम्बर वडामा कृषि तथा पशु प्राविधिकको व्यवस्था गरिदिन माग गरेका थिए । ३१ जना सदस्य रहेको समूहले आत्मनिर्भरका लागि समूहकै सदस्यबाट अहिलेसम्म ७ लाख रुपैयाँभन्दा बढी बचत संकलन गरेको छ ।
संकलित रकमबाट कृषि तथा पशुपालन गर्न चाहने कृषिकका लागि आवश्यक लगानी गर्दै आएको संस्थाका सचिव राजेश साह सोनारले जानकारी दिए । संस्थाका अध्यक्ष अब्दुल बराकत अंसारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शेष भिखारी, इमामुल अन्सारी, मैना देवी नुनियाँ, मोरियम खातुन, तमन्ना खातुन, इर्साद अंसारी, पुजा देवी राम, सावित्री कार्की, मुक्ति चौधरी लगायत स्थानीयको सहभागिता रहेको थियो ।