वीरगंज । संघीय संसदमा १६ वर्ष पछि मधेश बलिदानी दिवस मनाइएको छ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुको स्मरणमा मधेशमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइँदै आएको छ । प्रतिनिधिसभामा सभामुखको निर्वाचनका लागि सहमति दिने क्रममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले बलिदानी दिवसको अवसरमा शहीदहरु संग विभेद गरिएको आरोप लगाए । उनले सरकार, संसद् र अन्य पार्टीहरुले नश्लवादी चिन्तन देखाएको प्रति आक्रोश पोखे । राउतका लागि निर्धारित समय मध्ये अधिकांश समय उनले मधेशलाई हेर्ने खसवादी दृष्टिकोणको आलोचनामा नै खर्चेका थिए । अध्यक्ष राउतले भने–‘हामी मात्रै कति शासक वर्गको बलिदानी दिवस मनाइ रहने ? शासक वर्गको हरेक थोक हामीले मात्रै किन मान्ने ? माघ ५ गते जुन मधेशमा बलिदानी दिवस मनाइएको छ त्यसलाई राष्ट्रिय रुपमा किन नमनाइएको हो ?’
राष्ट्रिय सहमति भनेको के हो भने प्रश्नगर्दै राउतले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको निर्वाचनमा मात्रै राष्ट्रिय सहमति खोज्ने कि तराई मधेशमा शीतलहरका कारण मान्छे मरिरहेका छन्, किसानले मलखाद पाइरहेका छैनन्, देशको अर्थतन्त्र धराशायी हुने अवस्थामा छ त्यसकोलागि पनि राष्ट्रिय सहमति खोज्ने ? प्रश्न गरे । मधेशी, थारु, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत र राष्ट्रिय नागरक उन्मुक्ति पार्टीलाई एक छेउमा राखेर÷धकेलेर राष्ट्रिय सहमति खोजिएको हो कि भनेर स्पष्ट गर्न माग गरे । सभामुखको लागि मत माग्ने क्रममा दल भन्दा माथि उठेर मतदान गर्न आग्रह गरिएको प्रति उनले दल भन्दा माथि उठ्नुस भन्ने प्रति प्रतिक्रिया दिँदै उनले भने, आफूहरु उठ्न तयार रहेका छौ, तपाईहरु पनि एउटा निश्चित वर्ग, समुदाय, जातिको मुखौटा भन्दा बाहिर आउनोस् । उनले सरकार, संसद र पार्टीले देखाई रहेका नश्लीय चिन्तनबाट बाहिर आउन आह्वान गरे ।
मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदहरुलाई राष्ट्रले शहीद स्वीकार गरेपनि नश्लीय चिन्तनका शिकार शहीद नहुनुपर्ने उनको तर्क थियो । सदनमै उनले एक मिनेटको मौन धारण गरे र गर्नकालागि आग्रह गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत माओवादी लगायतका केही सांसदहरुले उठेर मौन धारणा गर्न समेत मानेनन् । तर देशभरीको ७ प्रदेश मध्ये मधेश प्रदेशमा जनयुद्ध दिवसको विदा र जनयुद्धमा शहादत दिएकाहरुको परिवारलाई भरणपोषणका लागि आर्थिक सहायता उपलब्ध गराइएको छ । मधेश आन्दोलन भएको १६ वर्षको अन्तरालमा दुई पटकको संविधानसभा र दुई पटकको प्रतिनिधिसभामा मधेश बलिदानी दिवसको अवसरमा श्रद्धाञ्जली दिइएको थिएन् । डा.राउतले बलिदानी दिवसको अवसरमा संसदमा मौन धारण गरेपछि अन्य मधेशी दलहरुलाई धक्का लागेको छ ।