बाँके । स्वास्थ्यचौकीमा चिकित्सक नहुनु र भए पनि उपचारका लागि चाहिने प्रविधि र औषधि अभाव हुँदा गाउँमा ‘झोले चिकित्सक’को दबदबा कायम छ ।
पैतालीस हजार जनसङ्ख्या रहेको नरैनापुर गाउँपालिकामा छ स्वास्थ्यचौकी छन्, तर औषधिको अभाव भने सधैँ भइरहन्छ । नरैनापुरका गाउँहरुमा ‘झोले चिकित्सक’ले स्वास्थ्य सुविधा धानिरहेका छन् । ‘झोले चिकित्सक’कै उपचारका कारण वर्षेनी ज्यान गुमाउनेको सङ्ख्या धेरै छ ।
गाउँमा कोही बिरामी हुँदा ‘झोले चिकित्सक’ बोलाइन्छ, बिरामीको मृत्यु हुन्छ, परिवारमा केही दिन रुवावासी हुन्छ, घटनाको चर्चा विस्तारै सेलाउँदै जान्छ र ‘झोले चिकित्सक’ले उन्मुक्ति पाउँछ ।
नरैनापुरमा ३५ भन्दा बढी ‘झोले चिकित्सक’ रहेको अनुमान छ । यिनै ३५ ‘झोले चिकित्सक’ले धानेको स्वास्थ्य सुविधाकै कारण धेरैले ज्यान गुमाउँछन् । यसको मुख्य कारण स्वास्थ्यचौकीमा चिकित्सक नहुनु र भए पनि उपचारका लागि चाहिने प्रविधि र औषधिको अभाव हुनु भएको नरैनापुरवासीको भनाइ छ ।नरैनापुरमा छ वडा छन्, हरेक गाउँमा कम्तीमा दुईका दरले ‘झोले चिकित्सक’ छन् ।