वीरगंज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी सरुवा बढुवाका लागि नेताको घरमा जाने प्रथाको अन्त्य गर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षणपछि गृहमन्त्री लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवाका लागि नेताको घर धाउने प्रथा अन्त्य गर्ने बताएका हुन्।
लामिछानेले भने, ‘सरुवा र बढुवा मापदण्ड बाहिरबाट हुनुहुँदैन। सरुवा र बढुवाको कुरा लिएर नेताका घरघर जाने कुरा अन्त्य गरिनेछ। हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन्।’ आगामी दिनमा कसैले पनि कानूनविपरीतका क्रियाकलाप नगरोस् भन्ने मान्यतामा आफू रहेको बताए।
लामिछानेले भने, ‘कुनै कुरामा दबाब दिँदैन। प्रहरीको सेवा, सुविधा, रासन र तलब स्केल सबैको पुनरावलोकन गर्नेछु।’सरुवा बढुवाका लागि दैलो चहार्नेहरूको सरुवा नगर्ने बताए। सरुवा र बढुवामा अहिलेको मापदण्डलाई परिमार्जन गरिने गृहमन्त्री लामिछानेको भनाइ छ।