वीरगंज । एक व्यापारीको सुन लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी पक्राउ परेका छन् । अवैध कारोबार गरेको आशंकामा प्रहरीको टोलीले पक्राउ गरेको हो ।
सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय काठमाडौंबाट गएको टोलीले आइतबार साँझ डिएसपी केसीलाई निवासबाटै पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो ।
डिएसपी केसीले सुन नियन्त्रणमा लिई व्यापारसँग २५ लाख मागेको र सोही अनुसारको रकम बुझाएपनि केसीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । डिएसपी केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको हो । इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रवाना लिई जाने तयारीमा रहेको अवस्थामा उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ।