वीरगंज । वीरगञ्ज महानगरपालिकाले रजतजयन्ति चोकदेखि बाइपास सडक क्षेत्रमा सडक पेटीमा राखेका निर्माण सामग्री तथा संरचना हटाएको छ । आइतबार बिहान महानगरका मेयर राजेशमान सिंह आफैँ उपस्थित भएर सडक पेटीमा राखिएका निर्माण सामग्री हटाउनुका साथै सडक पेटी अतिक्रमण गरी बनाइएका संरचना हटाउन लगाएका हुन् ।
सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा तथा सवारी पार्किङ गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन अहिले दैनिक अभियान नै चलाईरहेको छ । अव्यवस्थित पार्किङ हटाउन महानगरले बजार क्षेत्रको विभिन्न स्थानमा निश्चित पार्किङको व्यवस्था मिलाइसकेको छ । फलफुल बजार र ठेला व्यवसायलाई पनि व्यवस्थित गर्न महानगरले काम अघि बढाएको छ । फुटपाथ अतिक्रमण गरेर राखेको बालुवा गिटी जन्य निर्माण सामग्री तथा अतिक्रमण गरेर बनाइएका संरचनाले बजार कुरुप देखिने गरेको थियो ।
वीरगञ्जलाई हराभरा र सुन्दर बनाउन पनि अभियान चलाउनु परेको महानगरका सरसफाई तथा बृक्षारोपण संयोजक जयप्रकाश खेतान बताउँछन् । आइबार फुटपाथ अतिक्रमण नियन्त्रण र पार्किङ कार्यान्वयनका लागि मेयर सिंहसहित वीरगञ्ज महानगरपालिकाका सरसफाई प्रमुख सरफुद्धिन मियाँ, नगरप्रहरी प्रमुख हरि भुषाल, महानगरको सरसफाई तथा बृक्षारोपण संयोजक प्रकाश खेतान लगायतको सहभागिता रहेको थियो ।