वीरगंज । छिमेकी मुलुकमा कोभिड – १९ को अति संक्रामक मानिएको नयाँ भेरियन्ट बीएफ. ७ देखा परेपछि नेपालमा पनि त्यसको सतर्कता थालिएको छ। गृह मन्त्रालयले छिमेकी मुलुकको असर यता पनि देखिन सक्ने भन्दै जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय र स्थानीय तहहरुलाई यसप्रति सचेत गराएको छ।
उसले सरोकारवालाको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, भौतिक दुरी कायम राख्ने र व्यक्तिगत सरसफाइ सम्वन्धी स्वास्थ्यको प्रोटोकल पालना गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ।
यसअघि स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न भनेको छ । स्वास्थ्यले बुस्टर डोज खोप नलगाएका सबैलाई खोप लगाउन समेत भनेको छ। उसले छिमेकी मुलुकमा देखिएको कोभिडको नयाँ तर अति संक्रामक मानिएको भेरियन्ट बीएफ.७ नेपालमा अहिलेसम्म नदेखिए पनि खुला सिमाना र आउजाउ बढी भएकोले जोखिम अत्यन्त रहेको उल्लेख गरेको थियो।