सप्तरी । सप्तरीमा श्रीमतीकाे हत्या आराेपमा श्रीमानलाई जन्मकैदकाे फैसला सुनाइएकाे छ । राजविराज नगरपालिका-१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई ४० वर्षीया श्रीमती गीताकाे हत्या आराेपमा सप्तरी जिल्ला अदालतले जन्मकैदकाे सजाय सुनाएकाे हाे ।
जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलाशले यस्ताे फैसला सुनाएकाे हाे । पडरिया टोलमा डेरामा बस्दै आएका दम्पतीबीच आपसी विवाद हुँदा गीताकाे हत्या भएकाे थियाे । गएकाे मंसिर १० गते राजविराज नगरपालिका–१ मा रहेकाे प्राङ्गारिक मल बनाउने निर्माणाधीन खुल्ला भवनको प्यासेजभित्र गीताकाे शव भेटिएकाे थियाे ।
मृतकका बाबु गजानन्द रजकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंसिर १० गते किटानी जाहेरी दिनुभएकाे थियाे । जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालयका साथै जिल्ला अदालतमा हिरालालले गीताकाे हत्या गरेको स्वीकार गरेपछि अभियोगपत्र दायर भएलगत्तै जन्मकैदकाे फैसला सुनाइएकाे हाे ।