वीरगंज । वीरगन्ज महानगरपालिकाले ३२ वटै वडामा गरि १३ हजार भन्दा बढि ब्लब जडान गरेकाे छ । उज्यालो वीरगन्ज अभियान अन्तर्गत सडक तथा चोकचोकमा रहेका विद्युतका पाेलहरुमा ब्लब जडान गरिएकाे महानगरपालिकाको विद्युत शाखाका इन्जिनियर राजिब कुमार उपाध्यायले जानकारी दिए । संघ सरकारको ५० प्रतिशत अनुदान र वीरगन्ज महानगरको ५० प्रतिशत लगानीमा सुरु गरिएको उज्यालाे वीरगन्ज अभियान अन्तर्गत महानगरका ३२ वटै वडामा गरि १३ हजार भन्दा बढी बल्ब जडान गरिएको उपाध्यायले बताए । उनका अनुसार ३२ वटै वडा उज्यालो बनाउने अभियान २०७७ मै सुरु भएको भए पनि गत असारसम्ममा ६० प्रतिशत पनि काम मात्रै काम भएकाे थियाे ।
महानगरपालिकाले असार १९ गते स्वेत पत्र सार्वजनिक गर्दै यस अघिको नेतृत्वका कारण उज्यालो अभियान कार्यक्रम सम्पन्न गर्न ढिलाई भएको उल्लेख गरेको थियो । महानगरमा
नयाँ नेतृत्व आएसँगै कामलाई तिब्रता दिएपछि तीन महिनामा अभियान अन्तर्गत बल्ब, कन्ट्रोल प्यानल लगायतका उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको र हरेक वडा झिलिमिल बनेको उपाध्यायले बताए । सम्झौता अनुसार १०० वाट, ६० वाट र ४० वाटको गरी कूल १३ हजार ३ सय ९० वटा ब्लब र १ सय भन्दा बढी कन्ट्रोल प्यानल जडान गर्ने काम सकिएको शाखाका इन्जिनियर उपाध्यायले जानकारी दिए । केही वडामा पहिले जडान भएको वत्ति नबल्ने समस्या देखिएकोमा त्यसलाई हटाएर नयाँ जडान गरेसँगै अहिले अधिकांस बत्ति बल्ने गरेको उपाध्ययले बताए ।सूर्योदय उर्जा र तोप्सन इनर्जी जेभी, काठमाण्डौले २३ करोड ९६ लाख २४ हजार १२७ रुपैयाँमा ठेक्का सकार गरेर काम गरेका थिए ।
सुरुमा एक वर्षभित्रै काम सक्ने सम्झौता भएकोमा अहिले आएर मात्रै काम अन्तिम चरणमा पुगेको हो । जडान भएका बत्तिमा कुनै समस्या देखिए तत्काल खबर गर्न पनि महानगरको विद्युत शाखाले सबैलाई आग्रह गरेको छ ।विगतका दिनमा बत्ति नबलेको गुनासो दैनिक आउने गरेको भए पनि अहिले मर्मत र जडानको कामलाई तिब्रता दिएकाले गुनासो आउन पनि कमि भएको उनले जानकारी दिए । आएका गुनासालाई तत्काल सम्बोधन गर्ने गरी टोली परिचालन हुने हुँदा गुनासो आउन कम भएको विद्युत शाखाका इन्जिनियर उपाध्यायले बताए ।