वीरगंज । आर.के.पटेल । वीरगञ्ज-१४ पिपरास्थित श्री नृसिंह माध्यमिक विद्यालयमा शिक्षकको कुटाईबाट एक जना विद्यार्थी घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित नृसिंह माध्यमिक विद्यालयमा अध्ययनरत प्रदीप पटेल त्यहीँ पढाउँने एक जना शिक्षकको कुटाइबाट घाइते भएका हुन् ।
कक्षा १२ मा अध्ययनरत पटेललाई शिक्षक रामबालक यादवले पाइप र मुक्काले कुटपिट गरेर घाइते बनाएको बुझिएको छ । उनको हातमा गम्भीर चोट लागेको चिकित्सकले जनाएका छन् । पटेलका अभिभावकका अनुसार सोमबार बिहान विद्यालयको एसेम्बलीको समयमा केही विद्यार्थीले बदमासी गरेपछि सोधपुछ गर्न आएका शिक्षक यादवले पटेललाई पछाडिबाट पाइप र मुक्काले हिर्काएका थिए ।
कुटपिटबाट घाइते भएका पटेलको सुरुमा यादवले विद्यालयमै उपचार गरिएको थियो । प्रारम्भिक उपचार गराएर स्कूल छुट्टी भएर घर फर्केका पटेललाई अफ्ठ्यारो भएपछि उनका अभिभावकले नारायणी अस्पताल लागेका थिए । अस्पतालमा गरिएको चेकजाँचका क्रममा पटेलको हातमा गहिरो चोट लागेको चिकित्सकले जनाएका छन् । पटेलका अभिभावकले शिक्षक यादवमाथि प्रहरीमा उजुरी पनि दिएका छन् ।