वीरगंज । मानसिक समस्याका कारण पाँच महिनादेखि काठेसाँचोमा बाधिँएका पाँचथरका राम उप्रेतीलाई उपचारका लागि काठमाडौं ल्याइने भएको छ ।उप्रेतीको स्वास्थ्य उपचारको जिम्मा नवजीवन परोपकार समाजले लिने भएको छ । स्थानीय समाजसेवी तथा विभिन्न संघ संस्थाको सहयोगमा उप्रेतीलाई दुई दिनभित्रै काठमाडौं ल्याउने तयारी भइरहेको समाजका अध्यक्ष दुर्गानाथ दाहालले जानकारी दिए । उपचारका लागि अहिले शुभचिन्तकहरूबाट आर्थिक रकम संकलन गरिरहेको पनि दाहालले बताए ।
पाँचथर हिलिहाङ गाउँपालिका २ फलाटेस्थित डाँडागाउँका ३० वर्षीय उप्रेतीलाई विगत पाँच महिनादेखि परिवारले घरकै खाँबोमा काठको साङ्लोले बाँधेर राखेको अवस्थामा भेटिएका थिए ।
न्यून आर्थिक अवस्थाका उप्रेतीको घरमा वृद्ध आमा, श्रीमती र एक वर्षीया छोरी छन् । मानसिक अवस्था बिग्रिएसँगै शारीरिक सन्तुलनसमेत गुमाएपनि नियन्त्रणका लागि बाँधेर राखिएको र आर्थिक अभावका कारण उपचारमा पुर्याउन नसकिएको श्रीमती मञ्जु उप्रेतीको भनाइ छ । हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले आफूलाई घटनाबारे भर्खरै थाहा भएको र उपचारमा पालिकाले जतिसक्दो सहयोग गर्ने बताएका छन् ।