वीरगंज । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा नक्कली अकाउन्ट बनाएर दु:ख दिने सप्तरीका सुमित कुमार थापालाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।
उनले फेसबुकमा समिरा शर्मा नामको नक्कली आईडि बनाएर सो आईडीको वाल र टाइमलाइनमा पीडितको तस्बिरको साथमा अन्य अपरिचित महिलाको अश्लिल तस्बिर राखि पोष्ट गरेर पीडित जाहेरवालाको बारेमा अनर्गल र अश्लिल शब्दहरू स्टाट्स लेखि पोष्ट गर्ने गरेका थिए । यसका साथै उक्त फेक आईडिको म्यासेन्जरबाट पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुक अकाउन्टको म्यासेन्जरमा समेत पीडितको बारेमा विभिन्न अश्लील म्यासेजहरू गरी पीडितको बदनाम, बेइज्जत गरी अनावश्यक मानसिक तनाव, दुःख हैरानी दिई, चरित्र हत्या हुने कार्य गर्ने गरेको ब्यूरोले जनाएको छ ।
ब्यूरोका अनुसार सप्तरीको सुरुङ्गा न.पा. वडा नं. १ का १९ वर्षीय सुमित कुमार थापालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा कात्तिक १८ गते इलाका प्रहरी कार्यालय भेडिया सारीको सहयोगमा पक्राउ गरिएको हो । ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।