वीरगंज । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा उद्योगमा लगानी प्रतिबद्धता २७ दशमलव ९९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको साउन–भदौ–असोजमा गत वर्षको तुलनामा उद्योगमा ३४ अर्ब १५ करोड रुपैयाँ लगानी प्रतिबद्धता कम भएको उद्योग विभागको तथ्यांक छ । गत आर्थिक वर्षको साउन–भदौ–असोजमा कुल १ खर्ब २२ अर्ब बराबरको लगानी प्रतिबद्धता हुँदा ८७ वटा स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए ।
चालु आर्थिक वर्ष ८७ अर्ब ८५ करोड रुपैयाँ बराबरको मात्रै लगानी प्रतिबद्धता हुँदा ८६ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ । विभागका अनुसार ठूला २६, मझौला ३१ र साना उद्योग २९ वटा दर्ता भएको हो । गत वर्ष ठूला २६, मझौला ३४ र साना २७ वटा उद्योग दर्ता भएको थियो ।
विभागका अनुसार विदेशी लगानीको स्वीकृति पनि घटेको छ । गत वर्ष सोही अवधिमा १०७ वटा विदेशी लगानी स्वीकृत हुँदा यस वर्ष १९ वटा विदेशी लगानीले स्वीकृति पाएकाे छ । चालु आर्थिक वर्षको ३ महिनामा २ अर्ब २४ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव गरिएको छ भने एक हजार ४३ जनाको लागि रोजगारी प्रस्ताव गरिएको छ । गत वर्ष यसै अवधिमा २४ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको थियो भने ७ हजार १९५ जनालाई रोजगारी प्रस्तावित गरेको थियो ।