वीरगंज । कोरोना दाबी भुक्तानीको प्रक्रिया अगाडी बढेको छ। लामो समयदेखि रोकिएको प्रक्रिया बीमा समितिले बिहिबार निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन बिमक संघसँग छलफल गरि अगाडी बढाएको हो।
अर्थमन्त्रालयले १ अर्ब रुपैयाँ उपलब्ध गराएपछि त्यसमा बीमा कम्पनीहरुले समेत थप गरि भुक्तानी गर्ने भएको हो। पिसिआर परिक्षणमा पोजेटिभ देखिएर पहिलो दाबी गर्नेले पहिलो प्राथमिकतामा पाउनेछन् । सरकारबाट आएको रकममा ८१ करोड रुपैयाँ थप गरि जम्मा १ अर्ब ८१ करोड रुपैयाँ कोरोना बीमाको रकम भुक्तानी गर्ने तयारी भएको समितिले जानकारी दिएको छ । कोरोना बीमाको कूल बक्यौता ११ अर्ब ४४ करोड रूपैयाँ रहेको छ ।
सरकारले दिनुपर्ने रकम नदिएको र बिमित कम्पनीबाट पोलिसि लिएको कारण कम्पनी जिम्मेवार हुनुपर्ने भन्दै कम्पनीबिरुद्ध उजुरी प्रक्रियामा पुगेको थियो | कोरोना बिमा मापदण्ड अनुसार पहिलाको सम्झौताको मोडालीटि परिर्वतन गरि बाँकी रहेको भुक्तानीमा थप ४५% दायित्व बीमा कम्पनीले बहन गर्ने निर्णय भएको थियो। अझै १० अर्ब भन्दा बाँकी रकम भुक्तानी हुन बाँकी नै रहेको छ।
बीमा समितिका अनुसार एक हप्ता भित्रमा भुक्तानी सुरु गर्ने तयारी भएको छ। कम्पनीहरुलाई सोही अनुसार आफ्नो दायित्व अन्तर्गतको भुक्तानीका लागि तयारी गर्न मौखिक निर्देशन बीमा समितिले दिईसकेको छ।