आलमले प्रहरीकै अगाडि दिए मान्छे मार्ने र आगो लगाउने धम्की (भिडियाेसहित)
वीरगंज संजाल
२ मंसिर २०७६, सोमबार २२:४३
४९९३
काठमाडाैं | रौतहटको राजपुर बमकाण्डका अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका नेपाली कांग्रेसका नेता तथा संघीय सांसद महमद अफ्ताव आलमले प्रहरीकै अगाडि मान्छे मार्ने र आगो लगाउने धम्की दिएको पाइएको छ ।
नेपाल ब्रोडकास्टिङ च्यानल (न्यूज २४) लाई प्राप्त २ मिनेट २४ सेकेन्डको भिडियोमा आलमले प्रहरीकै सामु जिल्लामा आगो लगाइदिने र मान्छे मार्ने धम्की दिएका छन् ।
प्रहरीकै अगाडि आलमले आफू विरुद्ध लाग्नेलाई मार्ने मात्र नभएर जिल्ला नै अशान्त बनाउने धम्की दिएका छन् । आलम हाल ललितपुरको नख्खु कारागारमा रहेका छन् । उनी १२ वर्षअघिकाे साे बमकाण्डमा गत असोज २६ गते पक्राउ परेका थिए । पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय राैतहटको हिरासत कक्षमा लैजाने क्रममा उनले प्रहरीलाई नै धम्की दिएकाे भिडियाे फेला परेकाे हाे ।
न्युज २४ लाइ प्राप्त यो भिडियोमा आलमले राैतहट जिल्ला नै अशान्त पार्ने भनेका छन् । त्यति मात्र होइन, उनले प्रहरीलाई नै धम्क्याएका छन् । उनले आफूलाई पक्राउ गरेर ठूलो गल्ती गरेको भन्दै आफू छुटेपछि एसपी भूपेन्द्र खत्री र डीएसपी नविन कार्कीलाई हत्कडी लगाउने धम्की दिएका छन् । भिडियाेमा उनले ‘भारतबाट मानिस…’ र ‘मेराे भारतबाट…’ भनेर समेत उच्चारण गरेका छन् तर त्याे बाेलि प्रस्ट सुनिँदैन
आलमः तपाईंले मलाई ठट्टा ठान्नु भा’छ ? प्रहरीः कहाँ हामीले ठट्टा ठानेका छौं हजुर ? माननीयज्यूलाई हामी सम्मान गर्छौं । जयनेपाल, नमस्कार भनेका छौं । आलमः (गाडीमा हात बजार्दै) हँ… ? यो जिल्लामा आग (आगो) लाग्छ, आग । प्रहरीः शान्तिसुरक्षा र कानुन कार्यान्वयन गर्नु तपाईँको पनि जिम्मेवारी हो नि । आलमः यो जिल्लामा आग लाग्छ । तपाईं हेर्दै जानुस् । भारतबाट मानिस… प्रहरीः त्यस्तो भन्न मिल्दैन हजुर । आलमः मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ । म तपाईंको के हो ? म डकैत हुँ ? डकैतको व्यवहार गर्नु भा’छ तपाईंले । प्रहरीः हैन माननीयज्यू । आलमः अब जिल्लाभर अशान्ति हुन्छ । आगो लाग्छ । प्रहरीः माननीयज्यू, अशान्ति हुन्छ, आगो लगाउँछु, मान्छे मार्छु भन्न कहाँ मिल्छ ? आलमः हँ… एकदम हुन्छ, हुन्छ, हुन्छ । प्रहरीः त्यसो भन्न हुँदैन हजुर । आलमः (प्रहरीतर्फ औंला ठड्याउँदै) तपाईं र एसपीलाई हत्कडी लगाउँछु । प्रहरीः ठीक छ, ठीक छ । म जेल जान तयार छु । सर्वोच्चको आदेश पालना गर्दा हजुरले जेल पठाउनुहुन्छ भने हामी जान्छौं । आलमः अब असहज परिस्थिति निर्माण हुन्छ, त्यसको जिम्मेवारी तपाईं र एसपीले लिनुपर्छ । प्रहरीः शान्तिसुरक्षा गर्ने दायित्व हजुरको पनि हो । आलमः तपाईंलाई के हुन्छ भन्ने त मेरो वकिल आउँछ अनि थाहा हुन्छ । प्रहरीः बरू को वकिल हुनुहुन्छ, हामी बोलाउन सहयोग गर्छौं । मर्जी होस् हजुर । आलमः (चर्को बाेल्दै) हैन, मलाई तपाईंले जुन व्यवहार गर्नुभयो, त्यसको भुक्तभोगी तपाईं र एसपी हुनुहुन्छ । प्रहरीः हामीले त सर्वोच्चको फैसला कार्यान्वयन मात्रै गरेका हौं हजुर । आलमः होइन, त्यसका लागि पुलिस लिएर जान मिल्छ ? मेरो भारतबाट… प्रहरीः माननीयज्यूलाई सम्मानसाथ जयनेपाल, नमस्कार गरेर यस्तो आदेश छ हजुर भनेका छौं । आलमः होइन, तपाईंहरुले डकैतजस्तो व्यवहार गर्नुभयो । यही चोक (राजपुर/इन्द्रिस गेट) मा हजारौं मानिस जम्मा हुन्छन् अब । प्रहरीः केका निम्ति हजुर ? हामीले त सर्वोच्चको फैसला कार्यान्वयन गरेका हौं । अब अदालतले फैसला गर्छ, भीडले होइन । हजुरको पक्ष ‘स्ट्रङ’ छ भने त्यसरी जाउँ न हजुर । आलमः होइन, तपाईं दुइटा पुलिस राखेर… (शब्द प्रष्ट बुझिँदैन) गर्नुभएको छ, यसको भुक्तभोगी (जिम्मेवार) तपाईंहरु बन्नुहुनेछ । प्रहरीः हजुरले मलाई कहाँ दोष दिन मिल्छ र ? हामीले कानुन कार्यान्वयन गर्ने मात्रै हो । हामी सामान्य कारिन्दा मात्रै हौं । आलमः हैन, हैन.. । प्रहरीः हजुरहरुले नै बनाएको कानुन कार्यान्वयन गरेका हौं ।
आलमलाई कात्तिक १८ गते जिल्ला न्यायाधिवक्ताको कार्यालय, राैतहटले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारण कसुरमा ३० वर्ष कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।
कात्तिक २९ गते न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई प्राप्त प्रमाणका आधारमा पुर्पक्षमा राखेर मुद्दाको अनुसन्धान हुने आदेश दिएको छ । आलम आदेश पछि नख्खु कारागारमा छन् । आदेश लगत्तै न्यायाधीश ढकाल र न्यायाधिवक्ता खडिन्द्रराज कटवाल रौतहटबाट राति नै प्रहरी ‘एस्कर्टिङ’ मा काठमाडौं आउनुभएकाे छ ।