बारा । बाराको अमलेखगञ्ज नजिकै तीन नम्बर पुल छेउमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटनामा पर्दा ठूलो मानवीय क्षति भएको छ । नारायणगढबाट वीरगन्ज आउदै गरेको बा०६–००१ ख–०११० नम्बरको बस बिहान साढे १० बजेतिर तीन नम्बर पुल नजिकैको मोडमा सडकबाट खोलामा खसेको हो ।दुर्घटनामा १० जना भन्दा बढिको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
तर बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले भने दुर्घटनास्थलमा अहिले सम्म ८ जनाको मात्रै मृत्यु भएको पाइएको बताए । दुर्घटनामा २५ जना घाइते भएकोमा ती मध्ये १५ जनाको अवस्था गम्भिर रहेको पनि उनले बताए । घाइतेहरुलाइ उपचारका लागि हेटौडा अस्पताल र सिमराको अल्पाइन अस्पतालमा पठाइएको जानकारी बोगटीले दिए ।
बस , तीन नम्बर पुल नजिकैको मोडमा नमोडिकन सडकबाट करिब १५ मिटर तल खोलामा खसेको बोगटीले बताए । मृतक र घाइतेहरुको परिचय खुल्न बाँकी रहेको पनि उनले बताए ।