विराटनगर । दुर्घटनामा परेर र करेन्ट लागेर विराटनगरमा बिहीबार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना वृद्धा महिला र एक पुरुष छन्। कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ खारजीमा अटो टेम्पोले बिहान ८:४० बजेतिर ठक्कर दिँदा सडक क्रस गर्दै गरेकी वृद्धा महिलाको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–००२ ह ३९२ नम्बरको अटोको ठक्करबाट विराटनगर–१२ की ७७ वर्षीया हिमा निरौलाको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा बिहान ११:४० बजेतिर मृत्यु भएको हो। दुर्घटनामा अटो चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१० का ३८ वर्षीय गौरब कुरुम्वाङ पनि सामान्य घाइते भएका छन्। चालकको विराटमै उपचार भइरहेको छ।
त्यस्तै विराटनगर–११ रामपुर चोकस्थित एउटा कपडा फ्याक्ट्रीमा कार्यरत एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। केशरी निपेट वर्कशप कपडा फ्याक्ट्रीमा मिस्त्रीका रूपमा कार्यरत विराटनगर–१ पोखरियाका ५५ वर्षीय लालबिहारी कामतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार काम गर्ने क्रममा बिहान १०:३० बजेतिर मेसिनबाट अचानक करेन्ट लागेर कामत गम्भीर घाइते भएका थिए। उपचारका क्रममा कोसी अस्पतालमा बिहान ११:१० बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठको भनाइ छ। घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।