वीरगंज । आमिर खान अभिनीत फिल्म ‘लालसिंह चड्ढा’ व्यावसायिक हिसाबले माथि उक्लन थालेको छ । प्रदर्शनको पहिलो दिन निकै कम ओपनिङ व्यापार गरेको फिल्मको तेस्रो दिनको कमाइ २० प्रतिशतले बढेको ‘बक्स अफिस अफ इन्डिया डटकम’ले उल्लेख गरेको छ ।
फिल्मले तेस्रो दिनसम्म आइपुग्दा जम्मा २७ करोडको व्यापार गरेको छ । हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक यो फिल्मले तेस्रो दिन भारु रकम ८ करोड ७५ लाखमाथिको कमाइ गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । ‘सेक्रेट सुपरस्टार’का निर्देशक अद्भेत चन्दनले निर्देशन गरेको यस फिल्ममा अभिनेता आमिरसँगै करिना कपुरको प्रमुख अभिनय छ । ‘बक्स अफिस अफ इन्डिया डटकम’ले शनिबार फिल्मले ४० प्रतिशतले व्यापार गर्ने अनुमान गरेको थियो । तर, फिल्मले शनिबार पनि २० प्रतिशत व्यापार गरेको थियो ।
सामाजिक सञ्जालमा फिल्मलाई ब्वोइकट गर्न थालेपछि ‘लालसिंह चड्ढा’को यो हालत भएको हो । धार्मिक भावनालाई खलल पुर्याएको र भारतीय प्रहरीलाई गलत प्रस्तुत गरिएको भन्दै फिल्म विवादमा समेत तानियो । तर, यस्तै बेला अभिनेता आमिरले भने ‘हर घर तिरंगा’ अभियानमा सहभागी जनाउँदै आफ्नो घरमा भारतको झन्डा फहराएका छन् । आमिरले भारतको झन्डा फहराउन थालेसँगै के दर्शकको भीड हलमा उनको फिल्म हेर्न ओइरिएला ? त्यो त पछि नै थाहा हुनेछ ।