वीरगंज । फ्रान्समा एक सातादेखि फैलिएको डढेलो नियन्त्रणमा नआएपछि अन्य युरोपेली देशले सहयोग गरेका छन् । शुक्रबारदेखि युरोपेली मुलुकका ५ अग्नी नियन्त्रक विमानले डढेलो निभाउन संयुक्त पहल थालेका छन् । फ्रान्सको जिरोन्डे क्षेत्रमा फैलिएको डढेलो ४ दिनयता तीव्र रूपमा फैलँदै गएपछि फ्रान्स एक्लैले नियन्त्रणमा लिन असफल भएको हो ।
फ्रान्सेली अधिकारीहरूले बिहीबार साझ देशको दक्षिण पश्चिम क्षेत्र ज्यादै सुक्खा बनेकोले ज्वालामुखीझैं आगो फैलिएको र त्यो बढ्दै गएर फ्रान्सका अन्य धेरै भागमा फैलिन सक्ने चेतावनी दिएका थिए । उक्त चेतावनीपछि राष्ट्रपति इमानुएल म्याक्रोंले छिमेकी देशहरूको सहयोगमा देशका ८ ठूला डढेलो निभाउने प्रयास भइरहेको भन्दै ट्वीट गरेका छन् । जर्मनी, ग्रीस र पोल्यान्डले फ्रान्सको डढेलो नियन्त्रणमा सहयोग थालेका र केही समयभित्रै रोमानिया र अस्ट्रियाले अग्निनियन्त्रक पठाउने जनाएका उनल बताए । करिब १ हजार १ सय अग्निनियन्त्रक र ५ वटा विमानलेसमेत डढेलो नियन्त्रणमा लिन नसकेपछि फ्रान्सले अन्य देशको सहयोग लिएको हो ।
फ्रान्सको दक्षिणमा रहेको जिरोन्डे क्षेत्रको डढेलोले १७ घर नष्ट भइसकेका छन् भने करिब ११ हजार नागरिक विस्थापित भएका छन् । जिरोन्डे क्षेत्रको तापक्रम बिहीबार ४० सेल्सियस पुगेको र हावा फरकफरक दिशाबाट तीव्र रूपमा बहेपछि आगो निभाउन समस्या भएको अग्निनियन्त्रकहरूको भनाइ उल्लेख गर्दै फ्रान्सेली सञ्चार माध्यमहरूले जनाएका छन् । डढेलोका कारण बिहिवार मध्यान्हसम्म जिरोन्डे क्षेत्रमा मात्रै ६ हजार ८ सय हेक्टर वनक्षेत्र नष्ट भइसकेको जनाइएको छ ।