वीरगंज । मेलम्ची खानेपानी आयोजनाको बैंक जमानतसम्बन्धी मुद्दामा चीनको हेनान प्रान्तको उच्च अदालतले हिमालयन बैंक र बैंक अफ काठमाडौंको पक्षमा फैसला गरेको छ। ग्यारेन्टी बापतको रकम सम्बन्धित बैंकलाई फिर्ता गनुपर्ने गरी उच्च अदालतले जुलाई २५, २०२२ मा फैसला गरेपछि अब चाइना कन्सट्रक्सन बैंकले काउन्टर ग्यारेन्टी बापतको रकम फिर्ता गर्नुपर्नेछ।
फैसलाअनुसार हिमालयन बैंकले काउन्टर ग्यारेन्टीबापतको ६६ लाख ५५ हजार अमेरिकी डलर फिर्ता पाउनेछ। यस मुद्दामा चिनको झेङ्गझाउ जिल्ला अदालतले सन् नोभेम्बर ६, २०२० मा पनि नेपाली बैंकहरुको पक्षमा फैसला गरेको थियो तर उक्त फैसलाउपर चित्त नबुझेको भन्दै ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरोले उच्च अदालतमा अपिल दायर गरेको थियो ।
हिमालयन बैंक र बैंक अफ काठमाडौंले सन् २००९ मा चाइना कन्स्ट्रक्सन बैंकको ग्यारेन्टीमा चाइना रेलवे १५ ब्यूरो कम्पनीको नाममा काउन्टर ग्यारेन्टी जारी गरेको थियो । हिमालयन बैंकले न्यायिक सफलतामा सहयोग पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन समेत गरेको छ।