वीरगंज । चीनको हुबई प्रान्तको वुहानमा पुन: लकडाउन गरिएको छ । चार जनामा कोरोना संक्रमण देखिएपछि वुहानको जियांग्सिया जिल्लामा लकडाउन गरिएको हो । संक्रमित व्यक्तिहरूमा कुनै लक्षण नदेखिएको चिनियाँ जनस्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
करिब १० लाख जनसंख्या रहेको जियांग्सियाका स्थानीय बासिन्दालाई ३ दिनसम्म घरभित्रै बस्न भनिएको छ । वुहान कोरोना भाइरसको उद्गमस्थल हो । सन् २०१९ को डिसेम्बरमा वुहानमा पहिलो पल्ट कोरोना भाइरस देखिएको थियो । सुरुमा वुहान कोरोनाको उद्गमस्थलका रूपमा विश्वसामु चिनिए पनि पछिल्लो समय भने कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्ने देशका रूपमा चिनिएको छ । कोरोना भाइरस रोकथा तथा न्यूनीकरणमा चीनले कडा नीति अपनाएको छ ।
‘जिरो कोभिड’ रणनीतिअन्तर्गत चीनले ठूलो मात्रामा परीक्षण, आइसोलेसन र स्थानीय स्तरमा लकडाउन गर्दै आएको छ । कोरोना रोकथाम तथा न्यूनीकरणका लागि चिनियाँ रणनीति विश्वकै प्रभावकारी मानिन्छ । १ करोड २० लाख जनसंख्या भएको वुहान सहरमा नियमित रूपमा कोरोना परीक्षण हुँदै आएको छ । अमेरिकाको जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म चीनमा कोरोनाबाट १४ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म करिब २२ लाखमा कोरोना पुष्टि भएको छ ।