वीरगंज । बलिउड अभिनेत्रीले सोनाक्षी सिन्हाले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ आउन लागेको जनाउ दिएकी छन् । यो फिल्ममार्फत सोनाक्षीका भाइ कुश सिन्हाले निर्देशनमा डेब्यू गर्दैछन् ।
‘फिल्मको सुटिङ चाँडै सुरु हुँदैछ । कुश सिन्हा यो फिल्मबाट आफ्नो निर्देशकमा डेब्यू गर्दैछन् । यो फिल्ममा परेश रावल र सोहेल नय्यरका साथ स्क्रिन शेयर गर्नेछु’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् । फिल्मको पोस्टरमा सोनाक्षीको अनुहारको एक भाग देखाइएको छ । फिल्ममा उनको शैली निकै फरक देखाइएको छ ।
सोनाक्षीको यो फिल्ममा निकी भगनानी, विकी भगनानी र अंकुर टकरानीको लगानी हुनेछ । सोनाक्षी पछिल्लोपटक सलमान खानको फिल्म ‘दबंग ३’मा देखिएकी थिइन् । तर फिल्म बक्सअफिसमा असफल साबित भयो । सोनाक्षीका पछिल्ला केही फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेको छैन ।