सप्तरी | सप्तरीको तिरहुतले पालिकाको स्कारपियो गाडीको टायर खोलेर कार्यालय परिसरमै थन्काएको छ । पालिकाले असारभर भाडाका ३ वटा चारपाङ्ग्रे गाडी प्रयोग गरेको छ । यो महिनामा पनि भाडाका दुईवटा चारपाङ्ग्रे गाडी प्रयोग गरिरहेको छ । कार्यालयको गाडीको टायर भने भाडाको गाडीमा लगाइएको छ ।
टायर खोलेर थन्काएइको सप्तरीको तिरहुत गाउँपालिकाको स्कार्पियो जिप । तस्बिर : अवधेशकुमार झा/कान्तिपुर
तिरहुत गाउँपालिकाले दुई वर्षअघि खरिद गरेको प्रदेश २–०१–००१ झ ०००६ नम्बरको स्कोरपियो स्थानीय तहको निर्वाचनअघि तत्कालिन गाँउपालिका अध्यक्ष हेमन्तकुमार बहरखेरले चढ्दै आएका थिए । उम्मेदवारी मनोनयन अघि नै बहरखेरले स्कोरपियो पालिकामा बुझाएका थिए । स्थानीय तहको निर्वाचनका बेला निर्वाचन प्रयोजनमा उक्त सवारीसाधन प्रयोग भइरहेको अवस्थामा चालकले विद्युतको पोलमा गाडी ठोकेपछि अगाडीको भागमा क्षति पुगेको छ ।
अगाडिको भागमा क्षति पुगेको सो स्कारपियोलाई तिरहुत गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार सिंहले कार्यालय परिसरमा थन्काएका छन् । २ वर्ष मात्र भएको सो नयाँ स्कोरपियो मर्मतपछि पुन संचालनमा आउन सक्ने अवस्था हुँदाहुँदै अधिकृत सिंहले पालिकाको गाडी थन्काएर भाडामा गाडी लिएका छन् ।
उक्त स्कारपियो थन्काइएपछि स्थानीय तह निर्वाचनपछि नयाँ जनप्रतिनिधि आउँदा सवारीको खाँचो भएको थियो । पालिकाले अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चढ्नका लागि दुईवटा र असारमा योजना अनुगमन गर्न उपाध्यक्षका लागि थप एकवटा गरी तीनवटा सवारीसाधन भाडामा लिएको थियो । ‘असारमा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत चढ्न तीनवटा गाडी भाडामा लिइएको थियो,’ तिरहुँत गाउपालिकाका एक कर्मचारीले भने, ‘साउनपछि पनि अहिले २ वटा चारचक्के गाडी भाडामा लिइएको छ । मर्मत गरेर संचालनमा ल्याउन सक्ने अबस्थाको गाडी थन्काएर भाडामा गाडी प्रयोग गरिरहेको छ ।’
पोलमा ठोकिएको पालिकाको गाडीमा रहेको टायर खोलेर प्रमुख प्रशासकीय अधिकृत सिंह चढने भाडाको गाडीमा लगाइएको ती कर्मचारीले बताए । कार्यालय स्रोतका अनुसार एउटा भाडाको गाडी प्रयोगबापत पालिकाले मासिक १ लाख खर्च गरिरहेको छ । ‘इन्धन पालिकाकै गइरहेको छ, एउटा गाडीवापत भाडामा मात्र मासिक एकलाख रु पैयाँ खर्च भइरहेको छ,’ ती कर्मचारीले भने । तिरहुत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहसित सम्पर्क गर्दा उनी फोन उठाउँदैनन् । कार्यालय पुग्दा उनी केही दिनयता कार्यालय नआएको कर्मचारीले बताए ।
पालिकाले आर्थिक वर्ष २०७७/७८ मा अहिले थन्काइएको गाडीको मर्मतमा ४२ हजार ४ सय ९९ रुपैयाँ खर्च गरेको थियो । पालिकाको अन्य सबै सवारीसाधन मर्मतबापत २०७७/७८ मा ७ लाख ८१ हजार रुपैयाँ खर्च गरेको थियो । आव ०७७/७८ मै तिरहुत गाउँपालिकाले कार्यालय प्रयोजनार्थ १५ लाख ४६ हजार रुपैयाँ र पदाधिकारीका लागि इन्धनमा ७ लाख ४१ हजार रुपैया गरि २२ लाख ८७ हजार रुपैयाँ खर्चेको थियो ।