वीरगंज । चरम इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधि आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरु नाजुक अवस्थामा पुगेका हुन् ।
चिकित्सक र बिरामी समेत यातायातमार्फत सहजरूपमा हिँडडुल गर्न सक्ने अवस्थामा नभएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । श्रीलङ्काले ८५ प्रतिशतभन्दा बढी औषधि र चिकित्सकीय उपकरण आयात गर्छ तर यतिबेला विदेशी मुद्राको अभावले आयात सहज गर्न सकिरहेको छैन । देशको अर्थव्यवस्था अत्यन्त नाजुक अवस्थामा चलिरहेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीले देशको समग्र सार्वजनिक स्वास्थ्य सेवाको वर्तमान अवस्थाको बारे सत्य तथ्य विवरण सार्वजनिक गर्न आलटाल गरिरहेका छन् । यहाँका ९० प्रतिशतभन्दा बढी जनता सार्वजनिक स्वास्थ्य सेवामा निर्भर छन् । सञ्चार माध्यममा सार्वजनिक समाचार अनुसार सरकारी अस्पतालमा कार्यरत डाक्टरले आपतकालीन शल्यक्रिया गर्नसमेत कटौती गर्न बाध्य भएको बताएका छन् । त्यस्तै अत्यावश्यक औषधिको समेत आपूर्ति बन्द प्रायः रहेको छ ।
‘श्रीलङ्काको कुनै समयको बलियो मानिने स्वास्थ्य सेवा प्रणाली समेत अहिले खतरामा छ’, संयुक्त राष्ट्रसंघ निवासी संयोजक हाना सिंगर-हाम्डीले एक विज्ञप्तिमार्फत जनाएकी छन् । ‘सबैभन्दा कमजोरहरूले र निमुखा जनताले सबैभन्दा ठूलो प्रभावको सामना गरिरहेका छन्’, उनले भनिन् । विश्व बैंकले श्रीलङ्कालाई एन्टिरेबिज भ्याक्सिनलगायत तत्काल आवश्यक पर्ने औषधिहरूको भुक्तानी गर्न मद्दत गर्न कोषलाई निर्देशन दिएको छ । यसैबीच भारत, बङ्गलादेश, जापानलगायत देशले पनि श्रीलङ्कालाई स्वास्थ्य सेवाको क्षेत्रमा सहयोग गर्दै आएका छन् । यद्यपि यहाँको स्वास्थ्य सेवा प्रणालीको अवस्थामा भने तत्काल सुधार देखिएको छैन । नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले सुधारका निम्ति कडा कदम नचाले आगामी वर्षको अन्त्यसम्ममा मुलुकको आर्थिक सङ्कट झनै बिग्रदै जाने देखिन्छ । जारी चरम मुद्रास्फीतिले खाद्यान्नको मूल्यहरू यति उच्च बनाएको छ कि धेरै घरपरिवारहरू छाक टार्न समेत संघर्ष गरिरहेका छन् ।
सन् २०२२ को शुरुवात देखि नै श्रीलङ्काले बढ्दो आर्थिक सङ्कटको सामाना गरिरहेको छ । यसै बीच संयुक्त राष्ट्र संघले चेतावनी दिदै ५७ लाख मानिसहरूलाई ‘तत्काल मानवीय सहायता आवश्यक रहेको’ बताएको छ । श्रीलङ्काको अर्थतन्त्रले उत्पादनको लागि आधारभूत सामग्रीको अनुपलब्धता, मार्च २०२२ देखि मुद्राको ८० प्रतिशत अवमूल्यन, विदेशी सञ्चितिको अभाव र अन्तर्राष्ट्रिय ऋण दायित्व पूरा गर्न नसकेका कारण तीव्र सङ्कुचनको सामना गरिरहेको छ । थुप्रै श्रीलङ्कालीले खाद्यान्न र इन्धन लगायतका अत्यावश्यक वस्तुको चरम अभावको सामना गरिरहँदा मार्चमा विरोध प्रदर्शन सुरु भएको थियो जसले राजनीतिक परिवर्तन ल्याएको भए पनि आर्थिक अवस्थामा बने सुधारात्मक परिवर्तन भने ल्याउन सकेको छैन । आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री महिन्दा राजपाक्षले मे ९ मा राजीनामा दिएका थिए भने उनका भाइ राष्ट्रपति गोताबाय राजपाक्षले जुलाई १३ मा देश छोड्न बाध्य भए र त्यसको भोलिपल्ट राजीनामा दिएका थिए ।