रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकास्थित वागमती नदीबाट फेला परेको अनौठो माछा डल्फिन रहेको बताइएको छ । दुर्गाभगवती गाउँपालिका वडा नम्वर १ गंगापिपरास्थित वागमती नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीयले डल्फिन माछा फेला परेको बताएका हुन् ।
दुर्गाभगवती गाउँपालिका वडा नम्बर २ घर भएका राजकुमार सहनीले वागमतीमा करेन्ट लगाउँदा करिब ११ किलोग्राम तौलको माछा भेटाएपछि बिक्रीका लागि पिपराबजारमा ल्याएका थिए । पिपरा बजारमा बिक्रीका लागि माछा हेर्न स्थानीयको भीड लागेको थियो । सहनीले सो माछाको मूल्य एक किलोको १ हजार राखेका थिए। तर, नेपालमा डल्फिन माछा मार्न र खान प्रतिबन्ध छ ।
भारतको समुद्र हुँदै सो माछा नेपालको बागमती नदीमा आएको हुनसक्ने दुर्गाभगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंहले बताए । उनले दुर्गा वडा नम्वर ५ बडहर्वा नजिक सोही प्रजातिका धेरै माछा देखिएको दाबी गरे । डल्फिन संरक्षण गरेर आन्तरिक पर्यटनलाई टेवा पुर्याउनुपर्ने उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय, रौतहटका एसपी विनोद घिमिरेले माछालाई नियन्त्रणमा लिइसकिएको र आवश्यक अनुसन्धान गर्न डिभिजन वन कार्यालय रौतहटलाई बुझाएको जानकारी दिए ।