काठमाडौंमा अन्तर्राष्ट्रिय मानवअधिकार सम्मेलन, आप्रवासी कामदार प्रमुख मुद्दा
वीरगंज संजाल
२१ कार्तिक २०७६, बिहीबार १३:३६
४६६९
काठमाडौं | नेपालबाट विदेशमा काम गर्न गएका कामदार र अन्य देशका आप्रवासी कामदारको मानवअधिकारको विषयमा छलफल गर्न राष्ट्रिय मानवअधिकार आयोगले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। कामदार पठाउने र लिने ३० देशका सरकारी अधिकारी, ती देशका मानवअधिकार आयोगका प्रतिनिधि र गैर सरकारी संस्थाका प्रतिनिधिको सहभागीता हुने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ।
उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले उद्घाटन गर्ने तीन दिने सम्मेलनमा सहभागिता जनाउनका लागि मानवअधिकारका लागि विश्वव्यापी संजालका प्रमुख डा. कार्लो अल्फोनसो नेग्रेट मोस्क्युरा पनि सहभागी हुने राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले जानकारी दिए। बिहीबार आयोगमा पत्रकार सम्मेलन गरेर काठमाडौंमा तीन कात्तिक २६ देखि २८ गतेसम्म आयोजना हुने ‘आप्रवासी कामदारको अधिकार संरक्षणका सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को तयारीबारे उनले जानकारी दिए।
सम्मेलनमा केन्या, मलेसिया, माल्दिभ्स, मंगोलिया, दक्षिण अफ्रिका, कतारलगायतका मुलुकका मानवअधिकार आयोगका प्रमुखहरू सहभागी हुने पाठकले जानकारी दिए। त्यस्तै, बंगलादेश, भारत, थाइल्यान्डलगायतका मुलुकका मानवअधिकार आयोगका आयुक्तहरू पनि सहभागी हुने उलने बताए। काठमाडौंको सोल्टी होटलमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न ३० मुलुकका मानवअधिकार आयोगका प्रतिनिधि, सरकारी निकायका अधिकारी, गैरसरकारी निकायका अधिकारी, नागरिक समाजका प्रतिनिधि गरेर ६२ जनाको सहभागिता हुने आयोजक राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ।
नेपालबाट रोजगारका लागि विभिन्न मुलुकमा झन्डै ६० लाख मानिस बाहिरिएको अवस्थामा उनीहरूको मानवअधिकारको बारेमा छलफल गर्नका लागि सम्मेलनको आयोजना गर्न लागिएको पाठकले जानकारी दिए। ‘आप्रवासी कामदारको अधिकार रक्षाका लागि पहल गर्न खोजेका हौँ। कामदार पठाउने र लिने मुलुकका अधिकारीको सहभागिता हुने भएकाले यो प्रभावकारी हुने अपेक्षा लिएका छौँ’, पाठकले भने, ‘कामदार पठाउने र लिने मुलुकका चुनौती र समस्याबारे सम्मेलनमा छलफल हुनेछ।
रोजगारीका लागि विदेश गएका र त्यहाँ पीडित बनेकाहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे योजना तयार हुनेछ।’ सम्मेलनमा विभिन्न मुलुकका सरकारी प्रतिनिधि, मानवअधिकार आयोगका प्रतिनिधिले पाँचवटा कार्यपत्र प्रस्तुत गर्ने पाठकले जानकारी दिए। सम्मेलनबाट काठमाडौं घोषणापत्र जारी गर्ने र एक्सन प्लान तयार गरिने उनको भनाइ थियो।